Sunday, 14 September 2014

महाभारतको प्रारुप थारू जातीको बर्का नाच

महाभारतको प्रारुप थारु जातिको ‘बर्का नाच’
—छविलाल कोपिला
समय आफ्नै गतिमा अगाडि बढिरहेको छ । समयसंगै हाम्रा मौलिक कला, संस्कृति तथा संस्कार पनि परिवर्तन हुँदै गएका छन् । संस्कृति समयानुसार परिवर्तन हुनु स्वभाविक हो । तर कैयौं हाम्रा संस्कृतिहरु पूर्ण रुपले लोप हुने अवस्थामा पुगिसकेका छन् । र भविष्यमा यसको अवस्था के हुने भन्ने चिन्ताको विषय बन्दै गएको छ । हामी, हाम्रो संस्कृति निकै धनी छ भनेर भन्छौं । हाम्रो संस्कृति भनेर गर्व पनि गछौं । तर हाम्रो मौलिकता ह्रास हुँदै गएको कुराप्रति गम्भीर नहुनु ठूलो विडम्वना हो । यसको खासकारण बाह्यसंस्कृति प्रभाव नै हो । तर, हामी हाम्रै संस्कृतिप्रति रुचि नराख्नु पनि हामी दोषीको भागीदार हौं । अहिले, विभिन्न जाति, समुदायको मिश्रित बसाईका कारण पनि हाम्रो संस्कृति मिश्रित संस्कृतिको रुपमा रुपान्तरित हुँदैछ । बाह्यसंस्कृतिको प्रभाव पनि उत्तिकै पर्दै गएको छ । अरुको संस्कृति अगाल्नु हुँदैन भन्ने कुरा होइन । आफ्नो मात्रै ठीक भन्ने पनि होइन । यसले अतिवाद जन्माउँछ । अतिवादले विभेद, अहंकार र द्वन्द्व निम्त्याउन सक्छ । कतिपय संस्कृति त राम्रा पनि हुन सक्छन् । तर अरुको मात्रै राम्रो देख्ने संस्कार भने राम्रो होइन । हामी अहिलेसम्म यही नियत भोगिरहेका छौं । हामी हाम्रै संस्कृतिभित्र राम्रो र गलत कुरा केलाउन सक्ने क्षमता राख्न सक्नु पर्छ । हाम्रो संस्कृतिभित्र रहेका मौलिकता हाम्रो निजी पहिचान हो । जहाँ हाम्रो कला, रीति–रिवाज, चाल चलन, लवाई–खवाई, संस्कार र जीवन पद्दतिसंग सम्बन्धित हुन्छ ।
यहाँ थारु जातिको ‘बर्का नाच’ को बारेमा चर्चा गर्न खोजिएको छ । यो नाच थारु जातिको ‘हरेरी’ पूजा पछि नाचिन्छ र तिहारपछि विधिवत् पूजा गरेर अन्त्य गरिन्छ । किसानले लगाएको बालीनाली सप्रियोस्, किरा फट्याङ्ग्रा नलागून्, जमीनमा उर्बरा शक्ति बढोस् र उत्पादनमा बृद्धि होस् भन्ने जनविश्वासमा गरिने ‘हरेरी’ पूजा प्रायः भदौं महिनामा हुन्छ । यो पूजा भन्दा पहिले ‘बर्का नाच’को नाममा गीत गाउन र मादल, झाल–कस्टार बजाउन नपाइने परम्परागत नियम छ । महाभारत कथामा आधरित थारु पुराण ‘बर्कीमार’ गीतमा नाचिने यो नाच पुरुषहरुले नाच्ने सामुहिक नाच हो । प्रारम्भिक चरणमा यो नाच मादलको २२ तालमा नाचिए पनि अहिले सीमित तालमा मात्र नाच्ने गरेको पाइन्छ । मादल बजाउने मादलेहरु नै बजाउने ताल बिर्सिएपछि यो समस्या देखा परेको हो ।
यसको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने दाङको देउखुरी (स्थानीय भाषामा द्यौखर) को गोबरडिहा गाविस अन्तर्गत पर्ने महदेवा गाउँबाट सुरु भएको पाइन्छ । वि.स.१९७८ सालमा नारायणप्रसाद चौधरीको नेतृत्वको टालीको प्रयासमा पहिलो अभ्यास गरिएको थियो । यो नाच महाभारत कथालाई अध्ययन गरी मुङ्ग्रा (गडा) लिएर नाचियो र यही पराम्पराले नै अहिलेसम्म निरन्तरता पायो । नाचमा ‘बर्कीमार’ गीत गाएर नाचिन्छ । तर ‘बर्कीमार’ कसले रच्यो र कहिले रचना गरियो भन्ने विषयको भने अहिलेसम्म आधिकारिक जानकारी फेला परेको छैन । त्यसो त थारु समुदायका अधिकांश सिर्जनाहरु मौखिक रुपमै पुस्तान्तरण हुँदै आए । यसरी मौखिक पुस्तान्तरण हुँदा वास्तविक सिर्जनाकार ओझेल पर्ने गरेको देखिन्छ । नेपाली साहित्यको शुरुवात नेपाल एकीकरण पछि भएको मानिन्छ । त्यसैताका वि.सं. १८२५ सालमा प्रकासित सुवानन्द दासको ‘पृथ्वीनारायण शाह’ शीर्षकको कवितालाई पहिलो औपचारिक साहित्य मानिन्छ । थारु भाषा साहित्यको औपचारिक साहित्य लेखनको तथ्य जानकारी बाहिर आएको छैन । यद्यपि विषयवस्तुको हिसावले हेर्ने हो भने यो गीत पनि त्यसै समयको सेरोफेरोमा रचिएको अनुमान लगाउन सकिन्छ । किन भने प्रकृतिपुजक थारु जातिको पूजापाठ, चाड पर्व, रीति, संस्कृतिलाई हेर्ने हो भने प्रायः हिन्दू धर्मसंग मेल खाँदैन । कला, संस्कृति, रहन सहन र प्रकृतिप्रति अत्याधिक विश्वास गर्ने हुनले ‘प्राकृत’ धर्म नै थारु जातिको प्राचीन धर्म हो भन्ने धारणा पनि जनमानसमा छ । नेपाल एकीकरण पछि एक भाषा, एक धर्म र एक नीति लागूसंगै यहाँका थारु लगायत अन्य आदिवासी जनजातिहरुलाई पनि हिन्दूकरण गरिएको देखिन्छ । पछिल्लो समयमा थारुहरु पनि आफू हिन्दू रहेको भन्नेहरुको संख्या पनि ठूलो छ । यसैको प्रभाव हुनसक्छ थारु समुदायमा पनि हिन्दू ग्रन्थ र मिथकहरुसंग सम्बन्धित केही गीतहरु सिर्जना भएको पाइन्छ । ‘बर्कीमार’ पनि महर्षि वेदव्यासद्वारा रचित हिन्दू धर्मग्रन्थ महाभारतको भाव अनुवादित ‘थारु पुराण’ हो । यसकारण ‘बर्कीमार’ पनि नेपाली साहित्यको प्राथमिककाल (वि.सं. १८०१–१९४०) मा रचना गरिएको हुनुपर्छ । बर्का नाचमा गीत भन्दा मादलको प्रधानता हुन्छ । गीत गाइए पनि मादलको तालमा गडा जुधाउने र शरिरको आउभाउ पनि यसले निर्धारण गर्छ । गडा (गजा) लिएर नाच्ने भएकोले यो नाच महाभारतमा उल्लेखित कुरुक्षेत्रको लडाईको झलक दिन्छ ।
अत्याधिक खर्चकारण यो नाच निरन्तरता पाउन सकेन । पछि दाङ नारायणपुर गाविस अन्तर्गत जलौरा निवासी रुपलाल चौधरी वि.स. २०१० सालमा आफ्नै गाउँ पुनः शुरु गराए । उनले नाचको सबै विधि प्रक्रिया महदेवाबाट सिकेर आफ्नो गाउँमा नचाएका हुन । चौधरीको यो कामले पुनर्जागरण ल्याएको मानिन्छ । पछि २०१६ सालमा योगी नरहरिनाथ, बद्रिनाथ योगीको सहयोगमा ‘बर्कीमार’ पुस्तक पनि प्रकाशित भयो । जसले हिजो मौखिक रुपमा गाइने बर्कीमार प्रकाशनपछि दस्तावेजीकरण भयो र सुरक्षित पनि भयो । यही पुस्तकबाट धेरैले गाउन पनि सिके । तर, अहिले यो पुस्तक प्रायः दुर्लभ भइसकेको छ । नाचको सन्दर्भमा कुरा गर्दा अहिले यो दाङको जलौरामा मात्र सीमित छ । बर्दियाको उल्टनपुरमा पनि यो नाच नाचिने गरेको कुरा बाहिर आए पनि यो पंक्तिकारलाई आधिकारिक जानकारी छैन । जलौराको बर्का नाचको अगुवाई भने रुपलाल चौधरीका छोरा चन्द्रप्रसाद चौधरीले गर्दै आएका छन् । यो पनि अहिले नियमित छैन । यो नाच हेर्नका लागि कुनै महोत्सव या कार्यक्रममा पर्खिनु पर्ने अवस्था छ । अहिले यो नाचले सीप पुस्तान्तरणको ठूलो चुनौति भोगिरहेको छ । नयाँ पुस्ताहरु यसप्रति कुनै चाँसो नदेखाएको अवस्था छ । यसका धेरैजसो कलाकारहरु ५० वर्ष माथि समुहका मात्रै छन् । त्यसकरण यसको कुनै विकल्प नखोजिए हाल नाचिरहेको पुस्ताको अन्त्यसंगै यो नाचको पनि प्रायः अन्त्य हुने निश्चित देखिन्छ ।
यस नाचप्रति चासो नहुनुको अर्को प्रमुख कारण खर्च पनि हो । यसको तयारीको लागि ठूलो खर्च लाग्ने गर्छ । त्यसकारण खर्च योजनाको तयारी पछि मात्र नाच थालिन्छ । आर्थिक रुपमा धेरै खर्चिलो भएकोले यो कमजोर हुँदै गएको सहजै स्वीकार्न सकिन्छ । नाचको शुरुवातमा रजावर मर्वा (भूँइह्यार थान) को कुनै एक कुनामा पाण्डव र केही कौरव पात्रहरुको प्रतिकात्मक ध्वजा गाडिन्छ । नाच सकिएपछि यसरी गाडिएको ध्वजा र मर्वामा बिशेष पूजा गरिन्छ । पूजामा अत्याधिक संख्यामा पशु–पन्छीहरुको बली चढाइन्छ । शुरुवात भने सामान्य छाँकी (रक्सी र जल) चढाएर गरिन्छ । पूजा रजावर मर्वामा आफ्नो मौलिक रीत प्रक्रिया अनुसार गरिन्छ । जसमा दुई वटा बोका, एक वटा भेडा, दुई वटा पाठी, सुंगुर चार वटा र झण्डै एक सय दश वटा चल्ला पुजिन्छ । पूजा गर्नुभन्दा पहिले बीचमा सबैभन्दा अग्लो टाँरवान (बाँसको अग्लो लिङ्गो) जसमा कालो खोल र कालो सूरही गाईको पुच्छर जोडिएको हुन्छ । त्यसैगरि राजा युधिष्ठिरको टाँरवान पनि गाडिन्छ । त्यसैको पूवैतिर रानी दूर्पतीको टाँरवान रातो र टुप्पमा लोटा बाँधिएको हुन्छ । ह्यौटाको टाँरवानको पश्चिमतिर र कौरव राजा जिरिजोधन (दुर्योधन)को टाँरवान सेतो खोल र कालो सूरही गाईको पुच्छर बाँधिएको हुन्छ । र अन्त्यमा सबैभन्दा पश्चिम सैनिकवृक्षको टाँरवान कालो खोल र कालो सूरही गाईको पुच्छर जोडिएको हुन्छ ।
पूजामा सबै कलाकारहरु मिलेर एउटा ठूलो जोंजा (मसाल) बाल्ने गर्छन् । त्यही ठाउँमा गुर्वालाई बसालेर चल्लाको टाउको हातले निमोटेर गुर्वाको टाउकोमा चढाउँछन् । संगै जल–रक्सीको छाँकी पनि चढाउँछन् । अन्त्यमा सबै टाँरवान उखेर एउटा रुखमा (बर, पिपर या सीमल आदि) बाँध्ने गर्छन् । रुखको मुनतिर पश्चिमतिर मुख फर्काएर गाईको गोबरले लिपपोत गरिन्छ र ‘बघेश्री’ देवीलाई खाल्डो खनेर अण्डा (फुल) चढाइन्छ अनि त्यहीं एउटा चल्ला पनि पुजिन्छ । आज नाचको डिवाँ राख्ने (यति वर्ष नाच्ने भनेर समय निर्धारण गर्ने) पनि गरिन्छ । डिवाँ तीन, पाँच, सात बर्षको हुन्छ । डिहाँ राख्नको लागि गुर्वाद्वारा मनौटा (भाकल) गरिन्छ । डिवाँ अनुसार नाच हुन्छ । यसरी बर्का नाचको सबै पूजा–पाठ सकिन्छ । 
यो सामुहिक नाच हो । यसको लागि पाँच जना जामा, पाँच जना लहँगा र पाँच जना धोटीवाल गरि १५ जना हुन्छन् । त्यस मध्ये पाँच जना मुङ्ग्रा लिएर नाच्छन् भने अरु मजिराले नाच्छन् । तीन जना मादले र दुई जना जोक्कर पनि हुन्छन् । यसैगरि बर्कीमार गाउने ‘मोर्हिया’ (गीत उठाउने व्यक्ति) सहित अरु छ जना पनि हुन्छन् । पराम्परागत नाच उल्लेखित संख्यामा कलाकार रहने भने पनि कलाकारको उपस्थिति अनुसार कमबेसी पनि हुन सक्ने अभियन्ताहरु बताउँछन् । बर्का नाच सुम्रौतीबाट शुरु हुन्छ । सुम्रौती भनेको आफ्नो देवी देउताहरुलाई निम्ता गर्ने अर्थ लाग्छ । त्यसकारण आफ्ना सम्पूर्ण देवी देउताहरुलाई निम्तो गरिसकेपछि नाच शुरु हुन्छ । सुम्रौती यसप्रकारको हुन्छ ः 
सरस्वती सुमिरौं जीउकै जोटी 
अपदरप सुमिरौं गजमोती
पण्डो कथा कहाँ लैजाउँ
जहाँ सुनाउँ वहाँ वासुक नाग 
भगमती शरण लेबुँ तोर नाउँ 
देखी धरमदेवी बन्धन बा ।
सुम्रौती गाएर देउताहरुलाई छाँकी चढाइन्छ । त्यसपछि गाउँको ककन्डरवा (महट्वाँ, बरघरिया, प्रधान) घर जान्छन् । ककन्डरले ठूलो सम्मान गर्छन् । सगुनको रुपमा ककन्डरकी गधुनियाँ (स्वास्नी) उनीहरुको शुभ साइतका लागि सेतो टीका (पीठो या चामल) लगाएर छाँकी दिन्छिन् । त्यसपछि नाच गर्दै अन्य ठाउँमा पनि जान्छन् । यो नाचले सुबिकाल हुन्छ, शान्ति हुन्छ, भूत–प्रेत आइदैन्, जमीनमा उर्वराशक्ति आउँछ र बालीनाली राम्रो हुन्छ भन्ने जनविश्वास छ । नाचमा विभिन्न देवी देउताहरुलाई निम्तो गरिएको हुन्छ । नाचमा विशेषतः करैयाकोट, घोड्डग्रैया, कन्डरा, बाइसमाथा, कोटिया, भगतभार, डुमडुमवा र ठाउँ अनुसार अन्य मन्दिरका देउताहरुलाई निम्तो गरिएको हुन्छ । उनीहरुलाई गुर्वाले आफ्नो मन्तरको माध्यमबाट निम्तो गर्छन् । उनीहरुको छायामा पर्दा नाच्ने वा हेर्नेहरु मूर्छा पर्ने डर हुन्छ । त्यसैले कलाकारहरु गुर्वाले दिएको साजेको चामल (अक्षेता) र पानी मात्रै पिउँछन् । नाच्ने ठाउँमा समय–समयमा अक्षेता छिटिरहन्छन् । यो नाच नाच्दा डेशबँढिया गुर्वालाई बोलाइएको हुन्छ । गुर्वा सुरही गाइको पुच्छर लिएर चारैतिर अक्षेता छित्दै घुम्छ । कलाकारहरुलाई दिसा–पिसाब लाग्यो भने साथमा एक जना गुर्वा र हातमा अक्षेता लिएर मात्र जान्छन् । फर्केर पुनः लिएर गएको चामल डेशबँढिया गुर्वालाई दिन्छन् । यसो गर्दा भूत–प्रेत, बोक्सीहरु कलाकारहरु माथि आँखा लगाउन पाउँदैन । यसरी कहिलेकाही नाच हेर्दा वा नाच्दा मूर्छा परे भने शान्त ठाउँमा लगेर गुर्वाले साजेको पानी छर्कने र सुरही गाइको पुच्छरले हम्किने गरिन्छ । यसरी पानी छर्कने र हम्के पछि मूर्छाबाट छुटकारा पाइन्छ भन्ने जनधारणा छ । 
यसरी यो नाच देवी देउताहरुको स्तुतीगानमा नाचिने महाभारतको बेजोड प्रस्तुति हो । यसको नृत्यशैली र क्रियाकलापले कुरुक्षेत्रको लडाई प्रतिविम्वित गर्छ । त्यसकारण यसलाई पौराणिक नाचको रुपमा पनि लिइन्छ । बर्कीमार, महाभारत ग्रन्थको भाव अनुबादित गीतिग्रन्थ भएपनि यसका विभिन्न सन्दर्भ र घटनाहरुमा थारु जातिको मौलिकता झल्किन्छ । र त्यही मौलिकताभित्र पहिचान लुकेको छ । तर अहिले बर्का नाच ठूलो चुनौतिको सामना गर्दैछ र सदाका लागि लोप हुने अवस्थामा पुग्दैछ । यसको भविष्य र अस्तित्वरक्षाको लागि ‘जलौरा’ले एक्लो दुस्प्रयास गरिरहेको छ । युवापुस्ता मौन हेरिरहेका छन् । यसरी पुस्तान्तरणमा देखिएको दुरी पनि एउटा कारण हो । पुराना पुस्ताले दिन नसक्नु र नयाँ पुस्ताले लिन नचाहनु गम्भीर समस्या यही छ । नयाँ पुस्ताले चाँसो लिनै पर्छ । यदि यसको समाधान नखोजे भोलिको दिनमा यसलाई बचाउन सक्ने कुरा प्रायः असम्भव नै देखिन्छ । अर्को समस्या आर्थिक पनि हो । पूजामा अत्याधिक खर्च लाग्ने हुनले खर्चको जिम्मेवारी कसले लिने भन्ने पनि हो । तर यसलाई समयसंगै कम खर्चमा गर्न सकिने वातावरण तयार गर्न सक्नु पर्छ । सँधै पराम्परा टेकेर काम गर्न सकिने अवस्था हुँदैन । त्यसकारण समय अनुसार परिमार्जन र कम खर्चमा पनि गर्न सकिन्छ । संस्कृति अलौकिक वस्तु होेइन । योे पनि मान्छे नै आफ्नो अनुकुल र मौलिकतामा चल्दै आएका चलनहरु हुन् । त्यसैले मानव निर्मित संस्कृतिलाई स्वयम मानवले समयानुकूल बनाउन सकिन्छ । यसको लागि थारू समुदाय स्वयं आफै लाग्नु पर्छ र सरकार पनि सहयोग गर्नु पर्ने देखिन्छ ।

No comments:

Post a Comment